काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एशोसिएसनका पदाधिकारीले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले बिहीवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् । नेपाल बार एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको थियो ।
प्रधानमन्त्रीलाई भेटेपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको सञ्चारकर्मीलाई बताए ।