काठमाडौँ । बुधवार प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू बढुवा सिफारिस भएका छन् । बढुवा समितिले गरेको सिफारिस अनुसार एकहप्ता पुरा भएपछि गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । डीआईजी बढुवा सिफारिस भएसँगै १६ जनालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न मिल्छ ।
एसएसपीमा बढुवा हुन २०७५ जेठ २९ मा प्रहरी उपरीक्षक (एसपी) भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयले एसएसपी बढुवाको तयारी थालेको छ । एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन् । प्रहरी महानिरीक्षक सदस्य र मानव श्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन् ।
निवर्तमान आईजीपी धिरजप्रताप सिंहसँगै उनका ब्याचमेट उमाशंकर पञ्जियार र जनकराज पाण्डे एसएसपीबाट अवकाशमा गएका थिए । त्यसअघि एसएसपी लोकेन्द्र श्रेष्ठको अवकाश भएकाले रिक्त पदसंख्या १६ पुगेको प्रहरी प्रधान कार्यालयका अधिकृतले बताए ।