काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढाइएको छ। काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण, प्रहरी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ठमेल पर्यटन विकास परिषदले ठमेललाई थप व्यवस्थित बनाउन मुख्य चारवटा काम गर्दैछ।
परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार पहिलो चरणमा 'पर्यटकलाई सहज र ठाउँ व्यवस्थित बनाउन सबभन्दा पहिले ठमेलमा स्ट्रिट-नम्बर प्लेट राख्न लागिएको हो', उनले भने, 'यसले पर्यटकलाई ठमेल पुग्दा ठाउँबारे हेर्न सजिलो हुन्छ।'
स्ट्रिट-नम्बर राख्ने काम कर्मचारी सञ्चय कोषको भवन रहेको गल्लीबाट सुरू हुने उनले बताए। यसका लागि परिषद र पर्यटन बोर्डको सहकार्य हुनेछ। ठमेलमा ७५ वटा स्ट्रिट-नम्बर राखिनेछ। यसका लागि करिब २० लाख रूपैयाँ बजेट अनुमान छ। स्ट्रिट-नम्बर राख्ने काम केही दिनमै सुरू हुने उनले बताए।
स्ट्रिट-नम्बरसँगै सिसिटिभी क्यामरा, सडक बत्ती जडान र सडक मर्मत काम हुनेछ। अहिले सडकमा बत्ती जडान गर्न काठमाडौं महानगरसँग छलफल भइरहेको छ। जुनसुकै समयमा पनि पर्यटकको आवतजावत हुने ठमेलमा राति पनि झिलीमिली बनाउन प्रयास भइरहेको उनले बताए।
'ठमेलका मुख्य र भित्री सडकमा दुबैतर्फ सेन्सरमा आधारित बत्ती जडान हुनेछ। यसलाई बन्द गर्ने, खोल्ने गर्नुपर्दैन। अँध्यारोमा बल्छ उज्यालोमा निभ्छ,' उनले भने।
'नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल आइपुग्छन् । यसलाई पर्यटक जमघट हुने थलोका रूपमै चिनिन्छ', उनले भने, 'पर्यटक आउँदा अलमल नहोस् भनेर र स्वागतका लागि ठमेल व्यवस्थित बनाउन लागिएको हो।'