काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।
संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उनको भनाइ छ ।
अहिले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनको जिकिर छ। पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन र सरकारलाई जनमुखी बनाउन जरुरी रहेको उनले बताए ।