काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन् ।
नेता कोइरालाले २०८० नयाँ वर्ष को शुभकामना सन्देश दिँदै बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए ।
“विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।
बितेको दशक विविध उतारचढाव आएको जिकिर गर्दै उनले भूकम्प, नाकाबन्दी, कोरोना महामारीले देशको आर्थिक विकास र सामाजिक सम्बन्धमा निराशा छाएकाले अब पुनःस्थापनामा लाग्न नयाँ वर्ष २०८० मा प्रेरणा मिल्ने कोइरालाले बताए ।
नयाँ वर्षको आगमनमा देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र नेतामा विवेकको प्रयोग गर्दै साझा सङ्कल्प गर्ने अठोट कायम होस् भन्ने कामना उनले गरेका छन् ।