काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छिन् ।
राससका अनुसार नयाँ वर्ष २०८० का अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताएकी छिन् ।
नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
उनको सन्देशमा भनिएको छ, “विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण ग¥यौँ । दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड–१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन । हाम्रो सामु आज युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीका निम्ति अवसर सिर्जना गर्ने तथा कृषि, शिक्षा र नवप्रवत्र्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ ।”