काठमाडौँ । देशभर भएको वायु प्रदुशनले गर्दा बाक्लो तुवाँलो लागेर भरतपुर तुम्लिङटार र पोखराको आन्तरिक उडान पूर्ण रूपमा प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान बाक्लो तुवाँलोकै कारण प्रभावित हुन पुगेको हो ।
तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको टीआईएले बताएको छ । काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ ।
खराब मौसमकै कारण प्रभावित भएको सिमराको उडान भर्खर मात्र खुलेको अधिकारी टेकनाथ सिटौलाले जानकारी दिए । अन्य गन्तव्यहरूमा पनि बिस्तारै उडान हुन थालेको उनले बताए । उताबाट काठमाडौँ लगायत अन्य गन्तव्यहरूमा हुने उडानहरू समेत बिहान देखिनै प्रभावित हुन पुगेको सिटौलाले जानकारी दिए । गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो ।