काठमाडौं । बिसं २०८० सालको पहिलो दिनको सेयर बजारले लगानीकर्ताहरुमाझ खासै उत्साह ल्याउन सकेन् । आज आईतबार कारोबार खुलेको पहिलो घण्टा बजार परिसुचक उकालो लागेपनि यसले अन्तिम समयसम्म निरन्तरता पाउन सकेन् । अन्तिम समयमा आएर सेयरबजार परिसुचक दुई दशमलव ८० अंकले ओरालो लागेर १९ सय ३१ दशमलव ६८ बिन्दुमा खुम्चियो ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २६ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ बिन्दुमा खुम्चियो । यि दुबै सुचक घट्दा कारोबार रकम पनि खासै बढ्न सकेन् । यस अर्थमा पनि बिसं २०८० सालको पहिलो दिनको सेयर कारोबारले लगानीकर्ताहरुमा कुनै उत्साह ल्याउन सकेन् । पहिलो दिन नैं लगानीकर्ताहरु निराश भए ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३३ हजार एक सय ४९ पटकको कारोबारमा ३० लाख ५६ हजार सात सय ७५ कित्ता सेयर किनबेच भएकोे छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैंयाँ कायम भएको छ । आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।