काठमाडौं । ‘प्रिन्टिङ प्रेस’ खरिदमा संलग्न सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकाल पौडेलसहित नौ जनाविरुद्ध झण्डै पौने तीन खर्ब रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले केन्द्रका कार्यकारी निर्देशक, कर्मचारी र निजी क्षेत्रका केही व्यक्तिसहित नौ जनाविरुद्ध झण्डै पौने तीन खर्ब रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, प्रतिनिधि सीडीई नविन कुमार पोखरेल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत राम बहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भूवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्यितारले निर्देशक पौडेलसँग ६९ करोड आठ लाख रुपैयाँ, इन्जिनियर पोखरेलसँग ४९ करोड ४६ लाख रुपैयाँ, सहायक निर्देशक पोखरेलसँग २० करोड ३८ लाख रुपैयाँ, शाखा अधिकृत महर्जनसँग तीन करोड ४४ लाख रुपैयाँ, लेखा अधिकृत बुढासँग १९ करोड ८८ लाख रुपैयाँ, शाखा अधिकृत उपाध्यायसँग ४० करोड एक लाख रुपैयाँ, प्रबन्ध निर्देशक प्रधानसँग २३ करोड ४४ लाख रुपैयाँ, निर्देशक महर्जनसँग ४३ करोड ५७ लाख रुपैयाँ र प्रबन्ध निर्देशक गुरौसँग आठ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो ।
प्रिन्टिङ प्रेस खरिदकार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन विद्युतीय सामग्री स्वीकार गर्ने, सम्भौतामा उल्लेख भएभन्दा फरक निर्मित मुलुक भएको जेनेरटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने प्रणालीको खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा कर्मचारी तथा निजी क्षेत्रका अधिकारीहरूले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।
यही कारण उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोग ऐन २०४८ को दफा १८ तथा दफा ३५ बमोजिम आइतबार विशेष अदालत माठमाडौंमा अरोपत्र दायर गरेको अख्तियारले जनाएको छ ।