काठमाडौं । सरकारले २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर सोमबार सो रकमबराबरको ऋण उठाउन लागेको जनाएको छ ।
राष्ट्र बैंकले ट्रेजरी बिल्समार्फत सो रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार १५ अर्ब २० करोड रुपैयाँ पुरानो बिल्स नवीकरण हुनेछ भने साढे नौ अर्ब रुपैयाँ नयाँ ऋण उठाइनेछ ।
केन्द्रीय बैंकले २८ दिन अवधिको पाँच अर्ब रुपैयाँ, ९१ दिन अवधिको सात अर्ब ७० करोड रुपैयाँ, एक सय ८२ दिन अवधिको पाँच अर्ब रुपैयाँ र तीन सय ६४ दिन अवधिको सात अर्ब रुपैयाँको ट्रेजरी बिल्स बिक्री गर्न लागेको हो ।
ट्रेजरी बिल्समा आज (सोमबार) दिउँसो तीन बजेसम्म बोलकबोल हुनेछ भने मंगलबारदेखि जारी हुनेछ । सरकारले गत चैत २७ गते सोमबार पनि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोल गराएकोे थियो । त्यसबेला १९ अर्ब २६ करोड रुपैयाँ आन्तरिक ऋण संकलन गरेको थियो । पछिल्लो पटकको बोलकबोलमा बैंकहरूले न्यूनतम आठ दशमलव ५४८७ प्रतिशतदेखि नौ दशमलव ७९६४ प्रतिशतसम्मको ब्याजदरमा बोलकबोल गरेका थिए ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वन रकमसम्म ट्रेजरी बिल्सको बाँडफाँट हुनेगर्दछ । ट्रेजरी बिल्स एक वर्ष वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
पछिल्लो समय सरकार राजस्व संकलन नभएपछि अप्ठेरो स्थितिमा छ । कर्मचारीको भरणपोषणका लागि समेत आन्तरिक ऋण उठाएर काम चलाउनुपर्ने स्थितिमा पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारको राजस्व आम्दानी छ खर्ब ८३ अर्ब रुपैयाँ छ भने चालू खर्च मात्रै सात खर्ब छ अर्ब रुपैयाँ खर्च भएको छ । यसले राजस्व घाटाको स्थिति देखाउँछ । यही कारण सरकार ऋण लिएरै भए पनि काम चलाउने स्थितिमा पुगेको हो ।