काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ।
संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ ।
भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली केही दिनदेखि बिरामी परेका छन् । ओलीलाई घरमै भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट पुगेका हुन्।
उनीहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ ।