काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगानाले बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मान गरेका हुन् ।
बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव संगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भई काम गरेका थिए । त्यसअघि नेपाल क्रेडिट एन्ड कमर्स बैंकका महाप्रबन्धक रहेका ढुंगाना राष्ट्र बैंकको निर्देशक पद छाडेर निजी बैंकमा काम गर्न आएका व्यक्ति हुन् ।
नेपाल बंगलादेश बैंक नबिलमा विलय भएपछि ढुंगाना नबिलको सीईओ बनेका हुन् । भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।