विश्वकपपछि केही सुनसान देखिए पनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको त्यहाँका पर्यटन प्रमुखले आइतबार बताएका छन् ।
कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको बताएका छन् । तर उनले प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहनेगरेको बताउँदै उनले कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशतसम्म भरिभराउ रहेको बताए ।
बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटकले कतारको भ्रमण गरेको पत्रकार सम्मेलनमा बताए ।
सन् २०१९ मा कोरोना महामारीअघि करिब २१ लाख पर्यटक कतार पुगेका थिए । तुलनात्मकरूपमा प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटकहरू भेला भएका थिए । आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौँ डलर खर्च गरेको छ ।
सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । ‘मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौँ’, बेकरले एएफपीसँग भनेका छन् ।
‘फिफाका कारण हामीले आतिथ्य उद्योगमा धेरै पूर्वाधारहरू निर्माण ग-यौँ र निःसन्देह पनि आगामी महिनाहरूमा होटेल प्रयोग दरहरू माथि जाने सुनिश्चित हामीले गर्दैछौँ’, उनले भने । (रासस)