बेलायती वित्तमन्त्री जेरेमी हन्टले बेलायतको अर्थतन्त्रमा सुधार भएको बताएका छन् । हालै अमेरिकाको वासिङ्टनमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थतन्त्रमा वृद्धिको रणनीतिलाई स्वागत गरिएको बताएका छन् ।
उनका पूर्ववर्ती क्वासी क्वार्टेङ्ले बेलायातको अर्थतन्त्रबारे धेरै आलोचना भएपछि गत अक्टोबरको सुरुमा राजीनामा दिएका थिए ।
हन्टले अन्तर्राष्ट्रिय दाताको सहयोगले बेलायतको अर्थतन्त्रलाई सही मार्गमा फर्काएको बताएका छन् । यद्यपि पछिल्लो समय फेब्रुअरीमा सार्वजनिक तथ्यांकले बेलायतको अर्थतन्त्र अपेक्षितरुपमा बढ्न नसकेको देखाउँछ ।
आईएमएफले भने सन् २०२३ मा बेलायतको अर्थतन्त्र शून्य दशमलव तीन प्रतिशतले खुम्चने अनुमान गरेको छ । यही कारण विश्वभरमा बेलायतको अर्थतन्त्र खराब देखिनसक्ने बताएको छ ।
हन्टले महिनौँसम्मको औद्योगिक कार्य, तीव्र गतिमा बढेको मूल्य र श्रम अभावको सामनाले बेलायतको अर्थतन्त्रमा समस्या देखिएको बताए ।
उनले तलबवृद्धिको माध्यमबाट इन्धनको मूल्यवृद्धिबाट जोगिएको समेत बताए । यस्तै अहिलेसम्म मन्दीबाट जोगिएको भए पनि आगामी केही महिना मूल्यमा तीव्र उतारचढाव देखा पर्नसक्ने पनि बताए । उनले बजेटमार्फत व्यवसायहरुमा रोजगारी सिर्जना गर्न, लगानी बढाउन र बाल हेरचाह कोषको रकम वृद्धि गर्ने उपायहरुको विकास गर्नुपर्नेमा जोड दिए ।
‘गतवर्ष सरकारले विनाकारण करसम्बन्धी ठूलो हेरफेर गरेपछि बेलायतमा लगानीकर्ताको विश्वास गुम्दै गएको थियो’, उनले भने । बेलायतको अर्थतन्त्र पनि वित्तीय क्षेत्रसँग बढी जोडिएको छ । अहिलेको अनिश्चितताका कारण अमेरिकामा तीन बैंकहरु बन्द भएको र स्वीट्जरल्याण्डको क्रेडिट सुइसको आपत्कालीन अधिग्रहण गर्नुपर्दाको खबरले बेलायतमा पनि असर परेको उनले बताए । यद्यपि बेलायतको बैंकिङ प्रणाली सन् २००८ को वित्तीय संकटअघिको भन्दा धेरै राम्रो स्थितिमा रहेकाले चिन्ता लिनुनपर्ने बताए ।