बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए । उनले अब ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए । राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । एमालेले विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले संविधानको धारा १६८९३० अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताएका छन् ।