काठमाडौं । मंगलबार एनओसी विधेयक खारेजीको माग गर्दै विद्यार्थीहरूले बानेश्वरमा प्रदर्शन गरेका छन्। उनीहरूले 'एनओसी विधेयक खारेज गरु, 'शिक्षा हाम्रो भविष्य हो', 'हामीलाई एनओसी चाहियो' लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी फागुन १८ गते निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा कडाइ गरेको हो। यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयसमेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याएका थिए । पहिलो पटक ल्याइएको यस्तो निर्देशिका गत चैत १९ गतेदेखि लागु भइसकेको छ।
निर्देशिकाअनुसार अबदेखि विद्यार्थी विदेशमा डिप्लोमा वा कुनै भाषा कोर्स गर्नका लागि मात्रै जान नपाउने गरिएको छ । तर उच्च शिक्षा (स्नातक र त्यसमाथि) पढ्न जाने हो भने भाषा पढ्नका लागि पनि विद्यार्थी विदेश जान पाउँनेछन्।