काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ स्थित क्षेत्रको आजस्थलगत अनुगमन गरेका छन्।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भए पनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताउँदै उक्त निर्माणको कामले अब तीव्रता पाउने बताए ।
उनले द्रुतमार्गका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विभिन्न विषयमाथि आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिई निर्माणको कार्यमा सहजता प्रदान गरिने उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदरस्वरुप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गदै आफ्नै कार्यकालमा शिलान्यास भएको र आफैँले दु्रतमार्गको उद्घाटन पनि गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मन्त्रीहरु र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारी सहभागी थिए । रासस