काठमाडौं । काठमाडौंमा मंगलबारदेखि ‘पावर समिट–२०२३’ सुरु भएको छ । पहिलो दिन नेपाल र भारतका कम्पनीले दुई सय मेगावाटसम्मको बिजुली बिक्री/खरिद गर्ने समझदारी गरेका छन् । नेपालका कम्पनीहरुले बिक्री र भारतीय कम्पनीले खरिद गर्ने समझदारी गरेका हुन् ।
समिटको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु प्रमुख कार्यभार भएको बताएका थिए ।
नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट पारे ।
‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौँ । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउन उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौं’, प्रधानमन्त्रीले भने ।
‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ सुरु भएको पावर समिट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आयोजना गरेको हो । समिट बुधबारसम्म चल्नेछ । सम्मेलनमा भारत, बङ्गलादेश, भूटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी छन् । समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, बिजुली व्यापारसँग आबद्ध कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रसारण र वितरण कम्पनी, परामर्शदाताहरूको पनि सहभागिता छ । समिटमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन, अन्तर्देशीय विद्युत् व्यापारलगायत विभिन्न १५ वटा सत्रमा छलफल हुनेछ ।