मुम्बई । प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको पहिलो स्टोर भारतीय वित्तीय राजधानी मुम्बईमा अनावरण गरेका छन् ।
बीबीसीका अनुसार सार्वजनिक भिडिओमा कुकले ग्राहकलाई अभिवादन गर्दै स्टोरको ढोका खोलिरहेको र कर्मचारीले ताली बजाएको देख्न सकिन्छ । उनले ग्राहकलाई अभिवादन गर्दै उनीहरुसँगै सेल्फी खिचाएका थिए ।
कुकले दोस्रो स्टोर राजधानी दिल्लीमा बिहीबार उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा सहभागी हुन मानिसहरु टाढा टाढाबाट सहभागी भएका थिए । स्टोरको डिजाइन मुम्बईमा चल्ने कालो र पहेँलो रंगका ट्याक्सीबाट प्रेरित भई गरिएको जनाइएको छ ।
हालसम्म एप्पलका उत्पादन अनलाइन वा रिसेलर नेटवर्कमार्फत मात्र हुँदै आएको थियो । भारतलाई विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारका रुपमा लिइन्छ । भारतमा एप्पलले रिटेल बजारलाई जोड दिइरहेको छ । भारतमा एप्पलका उत्पादन हुनुलाई शानका रुपमा लिइन्छ । अहिले पनि भारतीय बजारमा ९५ प्रतिशत स्मार्टफोनमा गुगलको एन्ड्रोइड फोनकै दबदबा छ ।
पछिल्लो समय भारत आईफोन उत्पादकका रुपमा उदाउँदै छ । एप्पलले आपूर्ति शृंखला चीनबाट विविधीकरण गर्ने क्रममा छ । सोहीअनुसार एप्पलले भारतमा पनि आईफोन उत्पादन थालिसकेको छ । हाल कुल आईफोन उत्पादनको पाँच प्रतिशत हिस्सा भारतले ओगटेको छ ।
यसअघि सन् २०२१ मै एप्पलले भारतमा आफ्नो स्टोर खोल्ने योजना बनाएको थियो । तर कोभिड महामारीले बिथोलिएको थियो । कुकको भारत भ्रमण सात वर्षयताको पहिलो हो । एप्पलका सीईओले सन् २०१६ मा भारत भ्रमण गरेका थिए ।