काठमाडौं । प्रहरीले दुई जना विदेशी नागरिकलाई ठमेलबाट कोकिनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्या घर भएकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितु छन् ।
लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलनमा आरोपीहरूको साथबाट १ केजी ८० ग्राम लागु औषध कोकिन बरामद गरिएको जानकारी दिए । सो लागु औषध केन्याकी पिलिसिलाले इथिओपियाबाट काठमाडौँसम्म ल्याइदिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।
आरोपीहरु विरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए । पिलिसिलाले लेडिज ब्यागमा फल्स बटन बनाएर सो कोकिन काठमाडौँ सम्म ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख रुपैयाँ बराबर पर्ने बताइएको छ ।