काठमाडौं । खराब कर्जा बढ्दा केही वाणिज्य बैंकहरुको खुद मुनाफामा संकुचन आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकिङ क्षेत्रको औसत निष्क्रिय कर्जा झण्डै दुई प्रतिशत अर्थात् एक दशमलव ८३ प्रतिशत थियो । दोस्रो त्रैमासिकमा खराब कर्जाको आँकडा बढेर दुई दशमलव ३५ प्रतिशत पुग्यो । तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जाको आँकडा झनै बढेर तीन दशमलव शून्य तीन प्रतिशत पुगेको छ । औसत निष्क्रिय कर्जा बढेकै कारण केही बैंकहरुको मुनाफामा असर परेको वित्तीय विवरणहरुमा देखिन्छ ।
वित्तीय विवरणअनुसार तीन बैंकको खराब कर्जा चार प्रतिशतभन्दा माथि पुगेको छ । हिमालयन बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा चार प्रतिशत नाघेको हो । सिटिजन्स बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको खराब कर्जा पनि करिब चार प्रतिशत हाराहारीमा छ ।
एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया र नेपाल एसबीआई बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम छ । बैंकहरुको खराब कर्जा बढ्दा त्यसको असर खुद नाफामा परेको छ । वित्तीय विवरण विश्लेषण गर्ने हो भने खराब कर्जा कम हुने बैंकहरुको नाफाको वृद्धिदर धेरै छ । खराब कर्जा धेरै बढेका बैंकहरुको नाफाको वृद्धिदर कम देखिएको छ ।
सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले तेस्रो त्रैमासिक अर्थात् चैत मसान्तसम्म ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार चार सय ५० रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको चैत मसान्तभन्दा ११ दशमलव ६७ प्रतिशत अर्थात् पाँच अर्ब नौ करोड ११ लाख ४० हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको चैतमा बैंकहरुको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार पाँच सय ५० रुपैयाँ थियो ।
खराब कर्जा बढेका कारण कृषि विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ«े बैंक, प्राइम बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । कृषि विकास बैंकको नाफा ४५ प्रतिशतले घटेको छ । यो बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा एक अर्ब ९० करोड खुद मुनाफा कमाएकामा यसपटक एक अर्ब चार करोडमा झरेको छ । बैंकको खराब कर्जा चार दशमलव ३५ प्रतिशत पुगेको छ ।
सबैभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंकले ६२ प्रतिशत नाफा बढाएको छ । यो बैंकको खराब कर्जा शून्य दशमलव सात प्रतिशत छ । गत वर्षको चैतसम्ममा एक अर्ब ५१ करोड नाफा कमाएकामा यस वर्ष चैतसम्म दुई अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ ।
वित्तीय विवरणअनुसार सर्वाधिक नाफा कमाउने बैंकहरुको सूचीमा सबैभन्दा अगाडि नबिल बैंक छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा तीन अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको नबिलको नाफा यस आर्थिक वर्षको तेस्रो त्रैमासिकमा पाँच अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नबिलपछि धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक छ । गत आर्थिक वर्षको चैत मसान्तमा तीन अर्ब ७२ करोड रुपैयाँ कमाएको यो बैंकले यस वर्षको चैतसम्म चार अर्ब ३५ करोड रुपैयाँ कमाएको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा तीन अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा कमाएको एनआईसी एसियाले यस वर्ष चैतसम्म चार अर्ब एक करोड रुपैयाँ कमाउन सफल भएको छ । सबैभन्दा धेरै नाफा कमाउने बैंकमध्ये चौथो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले तीन अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ मुनाफा कमाएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि तीन अर्ब चार करोड पुगेको छ । गत वर्षको चैतमा बैंकले दुई अर्ब ४७ करोड रुपैयाँ कमाएको थियो ।
वित्तीय विवरणअनुसार तेस्रो त्रैमासिकसम्म एनएमबी, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम र एभरेष्ट बैंकको खुद मुनाफा साढे दुई अर्ब हाराहारीमा छ । प्रभु, कुमारी, नेपाल एसबीआई, नेपाल बैंक, हिमालयन, सानिमा, सिद्धार्थ, माछापुच्छे«, लक्ष्मी, सिटिजन्स र कृषि विकास बैंकको खुद मुनाफा दुई अर्बभन्दा कम छ ।
वित्तीय विवरण विश्लेषण गर्दा मर्जरमा गई कारोबार गरेका बैंकहरुको खराब कर्जा बढेको देखिन्छ । नबिल लगायतका बैंकको खराब कर्जा बढे पनि नाफामा असर परेको देखिँदैन । चैतसम्म २१ वाणिज्य बैंकहरुले ३० अर्ब ८६ करोड रुपैयाँ प्रोभिजन गरेको देखिन्छ । जसमध्ये आधा रकम मर्जरमा गएका बैंकहरुको हो । चालू आर्थिक वर्षमा नबिलले नेपाल बंगलादेश बैंकलाई, हिमालयनले सिभिललाई, प्रभुले सेञ्चुरीलाई, कुमारीले नेपाल क्रेडिट एण्ड कमर्सलाई, ग्लोबल आईएमईले बैंक अफ काठमाण्डूलाई र नेपाल इन्भेष्टमेन्टले मेगा बैंकलाई गाभेका छन् । यिनै बैंकहरुले प्रोभिजनमा झण्डै १५ अर्ब छुट्याउनुपरेको छ ।
यो अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी झण्डै साढे ५२ अर्ब छ । जुन गत वर्षको चैत मसान्तभन्दा साढे २२ अर्ब रुपैयाँले बढी हो । खराब कर्जा बढेर प्रोभिजनमा ठूलो रकम छुट्याउनुपर्ने स्थिति रहे पनि यसपटक धेरै बैंकले नाफामा उच्च वृद्धि गर्न सफल भएका छन् । तर केही बैंकहरुलाई नाफा बढाउन खराब कर्जा नियन्त्रण गर्नुपर्ने अवस्था देखिएको छ ।