काठमाण्डौं,चैत १९
पूर्वराज ज्ञानेन्द्र शाहले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारले लगाएको लकडाउनलाई बाध्यात्मक र अनिवार्यता भन्दै सरकारको कदमको समर्थन गर्दै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छन् । मंगलबार विज्ञप्ति प्रकाशित गरी पूर्वराजा शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको. कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा पनि गरेका छन् ।
आन्तरिक उडान पनि वैशाख ३ गतेसम्म बन्द
सरकारले आन्तरिक हवाइ उडान पनि आगामी वैशाख ३ गतेसम्मका लागि बन्द गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडान पनि वैशाख ३ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय सरकारले गरिसकेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई पत्र पठाएर वैशाख ३ गतेसम्म उडान बन्द गर्न निर्देशन दिएको हो । उक्त पत्रका कारण कुनै पनि विमान कम्पनीले कुनै पनि किसिमका उडान गर्न पाउनेछैन । आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।