नुवाकोट,पुडासैनी मैत्री समाजको चौथो राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार नुवाकोटको बेलकोगटगढी नगरपालिका–८ जिलिङमा भएको अधिवेशनले काठमाडौंका निरञ्जन पुडासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जिलिङ पुडासैनीहरुको सयौँ वर्षदेखि बसोबास रहेको स्थान हो । सोही स्थानबाट विभिन्न जिल्लामा पुडासैनीका सन्तानहरु बसाइँसराइ गरेको देखिन्छ । पुडासैनीहरुको लामो समयदेखिको बसोबासको स्थान र संख्याका आधारमा पनि पुडासैनी धेरै भएको कारण केन्द्रीय अधिवेशनका लागि यस पटक जिलिङ चयन गरिएको मैत्री समजाले जनाएको छ । यद्यपि गोरखा, मकवानपुर, काठमाडौंलगायतका जिल्लाहरुमा पनि पुडासैनीहरु सयौँ वर्षदेखि बस्दै आएको इतिहास छ । यसकै खोजीका लागि मैत्री समाजले काम गरिरहेको छ ।
चौथो राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका पूर्वराजस्व सचिव रामशरण पुडासैनीले प्रमुख अतिथिका रुपमा आफ्नो मन्तव्य राख्दै मैत्री समाजको नयाँ नेतृत्वले पुडासैनीहरुको बारेमा थप अध्ययन÷अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै सबै पुडासैनीलाई आ–आफ्नो क्षेत्रमा इमानका साथ काम गरेर आफ्नो पहिचान र शिर उच्च राख्न सुझाव दिए । कार्यक्रममा पुडासैनीको वंशावलीको तयारी गरिरहेका गोविन्द पुडासैनीले वंशावलीका पुस्तकको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
पुडासैनी मैत्री समाज जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको सम्मेलनमा मकवानपुर, चितवन र गोरखालगायतका जिल्लाबाट आएका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनमा असन्तुष्टि व्यक्त गर्दै केन्द्रीय कार्यसमितिमा बस्न चाहेनन् । नेतृत्व काठमाडौं केन्द्रित भयो भन्दै उनीहरुले सुरुदेखि नै विरोध गरेका थिए ।
केही जिल्लाका प्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरे पनि अधिवेशनले काठमाडौंका निरञ्जनलाई अध्यक्षको साथै उपाध्यक्षमा नुवाकोटको कुमरीका अर्जुन पुडासैनीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा काठमाडौंका जयराम पुडासैनी, सहसचिवमा काठमाडौंकै रामचन्द्र पुडासैनी, कोषाध्यक्षमा काठमाडौंका प्रदिप पुडासैनी चयन भएका छन् । विधानअनुसार २१ सदस्य कार्यसमिति चयन हुनुपर्नेमा शनिबार १४ सदस्यीय कार्यसमितिमा मात्र बनेको छ । अब बस्ने पहिलो बैठकमा २१ सदस्यीय नै कार्यसमिति चयन भइसक्ने बताइएको छ । असन्तुष्ट पक्षलाई पनि मिलाएर कार्यसमिति चयन हुने बताइएको छ ।