काठमाडौं । चाबहिलको नापी कार्यालय र मालपोत कार्यालयका कर्मचारीको समूह मिलेर गैरकानुनी रुपमा नक्सा तयार गरी जग्गा पास गरेको पाइएको छ । नापी कार्यालय चाबहिल, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्लेसहित आठ जनाको टोलीले अनधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी कानुनविपरीत नक्सा तयार गर्ने काम गरेका छन् ।
अधिकृतद्वय महर्जन र काफ्लेले जग्गाको कीर्तेकागजात तयार गरी जग्गा बढ कायम गरी भ्रष्टाचारजन्य काम गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध कैद र जरिवाना माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगका अनुसार उनीहरुले कानुनविपरीत काठमाडौं, साबिक मूलपानी १ ख कित्ता नम्बर ७०८, ७०९ , ६६६ र ८१३ को कित्ताबाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्याई कित्ताकाट एवं प्रमाणित गरेका हुन् । उनीहरुले सरकारी निकायको कागजातमा अनधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको हुँदा अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदाबी गरेको छ ।
कित्ताको आकारप्रकार परिवर्तन गरी टायल चोकबाट क्षेत्रफल बढ कायम गरी नक्सा सच्याई प्रमाणित गर्नेमा अधिकृत महर्जनसहित नापी अधिकृत रविशंकर पाण्डेय, सर्भेक्षक रामनारायण यादव छन् भने बढ कायम भएको जग्गा फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिन मालपोत अधिकृत काफ्ले र नायब सुब्बा उत्तम कुँवरले सहयोग गरेका छन् । परिवर्तित नक्साबोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मालपोत कार्यालयका कर्मचारीलाई सहयोग गर्नेमा झापा कमल गाउँपालिका वडा नं २ का योगेन्द्र आचार्य, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का सीताराम अधिकारी र काठमाडौं महानगरपालिका वडा नं ९ का नविन दाहाल रहेका छन् । उनीहरुले भ्रष्टाचार निवारण ऐन २०५९ विपरीत गैरकानुनी काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले गत साता अदालतमा मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।
जिल्ला काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका, साबिक गोठाटार र साबिक मूलपानी गा.वि.स. वडा नं. १ ख, का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कित्ताकाट गर्दा अनधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।