काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि तीनवटा कम्पनीको आवेदन परेको छ । बोर्डले एउटा स्टक एक्सचेन्ज र दुईवटा वस्तु विनिमय बजारको लाइसेन्स दिने गरी २०७९ चैत ३० गते आवेदन खुलाएको थियो । सोहीअनुसार अन्तिम दिन वैशाख १० गते साँझ ५ बजेसम्म स्टक एक्सचेन्जका लागि तीनवटा र कमोडिटिज एक्सचेन्जका लागि चारवटा कम्पनीले आवेदन दिएका छन् ।
बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन दिएको जानकारी दिएका छन् ।
यस्तै कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेन्ज लिमिटेडले आवेदन दिएको उनले बताए ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएको हिमायलन स्टक एक्सचेन्जमा शंकर ग्रुपका शंकरलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, भवानी राणा र पशुपति मुरारकासहित दीपक भट्टको मुख्य लगानी रहेको छ । यस्तै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतीशकुमार मोर, सौरभ ज्योति, राजेन्द्र खेतान, शशिकान्त अग्रवाल, रोहित गुप्तालगायतको पनि लगानी रहेको स्रोतले बताएको छ ।
नेशनल स्टक एक्सचेन्जमा सिद्धार्थ ग्रुप, रिलायन्स ग्रुप, अग्नि ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, वर्तमान अध्यक्षहरु बद्री केसी र कुल आचार्य तथा महासचिव गौरी जोशीको मुख्य लगानी रहेको छ । दीपक तिमिल्सिना निजी क्षेत्रबाट पेट्रोलियम कारोबार गर्ने भन्दै स्थापना भएको मालिका आयलका अध्यक्ष हुन् । उनकै पहलमा केही व्यावसायिक घराना र गैरआवासीय नेपालीहरुसहितको समूहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएको हो ।
अन्नपूर्ण स्टक एक्सचेन्जमा अन्नपूर्ण मिडिया हाउसका सञ्चालक रामेश्वर थापालगायत राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल लगायतको लगानी रहेको छ । यसबाहेक गणेशकुमार श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ, बलराम उप्रेती, सुरेन्द्रराज वाग्ले, अनिल सापकोटालगायतको लगानी रहेको स्रोतले बताएको छ ।
राजनीतिक तहमा राम्रै प्रभाव राख्ने यी समूहबीच नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्राप्तीका लागि राम्रै प्रतिस्पर्धा हुने भएको छ । किनभने नेपाल धितोपत्र बोर्डले एउटा मात्रै स्टक एक्सचेन्जका लागि आवेदन दिने तयारीसहित आवेदन माग गरेको हो ।
यसअघि बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र स्टक ब्रोकर कम्पनीका लागि आवेदन खुलाएको थियो । तर त्यसविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेपछि अदालतको आदेशमा कात्तिक १५ देखि लाइसेन्स दिने प्रक्रिया स्थगित भएको थियो । तर सर्वोच्च अदालतले पुस १३ गते र चैत २६ गते गरी दुवै रिट खारेज गरेपछि लाइसेन्स वितरणको बाटो खुलेको थियो ।