काठमाडौं । विकास बैंकहरुमा निष्क्रिय अर्थात् खराब कर्जाको अनुपात बढ्दा खुद मुनाफामा संकुचन आएको छ । क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी सञ्चालनमा रहेका १७वटा विकास बैंकहरुमध्ये हालसम्म १४वटाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् ।
जसअनुसार १३वटा विकास बैंकहरुको खराब कर्जा बढेको छ । मुक्तिनाथ, गरिमा, लुम्बिनी, महालक्ष्मी, कामना सेवा, सांग्रिला, ज्योति र मितेरीसहितका आठवटा विकास बैंकहरुको खुद मुनाफा घटेको छ । क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकमा भने खराब कर्जा घट्दा खुद मुनाफा बढेको छ ।
खराब कर्जा बढे पनि शाइन रेसुंगा, कर्पोरेट र ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफा बढेको छ । नारायणी र सिन्धु विकास बैंकले नोक्सानी व्यहोरेका छन् । खराब कर्जा बढेर नाफा घटेका मध्ये मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८० करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो बैंकको खराब कर्जा एक दशमलव ९९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुक्तिनाथको खराब कर्जा शून्य दशमलव १७ प्रतिशत रहेको थियो । त्यसबेला बैंकको मुनाफा एक अर्ब दुई करोड रुपैयाँ रहेको थियो ।
गरिमा विकास बैंकले पनि तेस्रो त्रैमाससम्म ६५ करोड १८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । उसको खराब कर्जा दुई दशमलव ९५ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा एक दशमलव शून्य दुई प्रतिशत थियो भने मुनाफा ७८ करोड ४६ लाख रुपैयाँ रहेको थियो । शाइन रेसुंगाकोे खराब कर्जा दुई दशमलव ११ प्रतिशत र खुद मुनाफा ५५ करोड ४५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा एक दशमलव २४ प्रतिशत कर्जा खराब र ४८ करोड ४७ लाख रुपैयाँ मुनाफा रहेको थियो । लुम्बिनी विकास बैकले ४६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यसको खराब कर्जा तीन दशमलव ७६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा खुद मुनाफा ५१ करोड छ लाख रुपैयाँ र एक दशमलव ६९ प्रतिशत खराब कर्जा रहेको थियो ।
महालक्ष्मी विकास बैंकले ३७ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो बैंकको खराब कर्जा चार दशमलव ६२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जा दुई दशमलव ८९ प्रतिशत थियो ।
कामना सेवा विकास बैंकको खराब कर्जा तीन दशमलव २७ प्रतिशत छ भने खुद मुनाफा गत वर्षको सोही अवधिभन्दा घटेको छ । बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गएको आर्थिक वर्षको चैत मसान्तमा बैंकको खराब कर्जा दुई दशमलव २० प्रतिशत र खुद मुनाफा ५० करोड ४५ लाख रुपैयाँ थियो ।
सांग्रिला डेभलपमेन्ट बैंककोे खुद मुनाफा पनि गत आर्थिक वर्षको चैतभन्दा घटेको छ । गत आर्थिक वर्ष चैतमा ४० करोड छ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यसपटक चैतसम्म २४ करोड ६१ लाख रुपैयाँ कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ७८ प्रतिशत पुगेको छ ।
ज्योति विकास बैंकले पनि समीक्षा अवधिमा २० करोड १६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको खराब कर्जा तीन दशमलव ८९ प्रतिशत छ । गत आर्थिक वर्षको चैतमा ५१ करोड ५७ लाख रुपैयाँ खुद नाफा र एक दशमलव ३७ प्रतिशत खराब कर्जा थियो ।
क्षेत्रीयस्तरको मितेरी डेभलपेन्ट बैंकको खराब कर्जा दुई दशमलव ५० प्रतिशत र खुद मुनाफा नौ करोड ८० लाख रुपैयाँ रहेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मुनाफा एक करोड ३० लाख रुपैयाँ र चार दशमलव १८ प्रतिशत खराब कर्जा रहेको छ । ग्रिन डेभलपमेन्ट बैंकले एक करोड तीन लाख रुपैयाँ नाफा गरेको छ भने खराब कर्जा चार दशमलव ९८ प्रतिशत रहेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जापनि चार प्रतिशतभन्दा माथि छ । नारायणीको चार दशमलव ८१ प्रतिशत खराब कर्जा छ । यो बैंक तीन करोड २९ लाख रुपैयाँले नोक्सानीमा छ । सिन्धु विकास बैंकको पनि चार दशमल २७ प्रतिशत खराब कर्जा र खुद नोक्सानी एक करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नोक्सानीमा रहेको कर्णाली डेभलपमेन्ट बैंक यस वर्ष नाफामा गएको छ । बैंकले एक करोड ७३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको खराब कर्जा भने तीन दशमलव २६ प्रतिशत रहेको छ ।