काठमाडौं , सोमबार राति फ्लाई दुबईको एफजेट ५७६ उडान नम्बरको जहाजमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्नेबित्तिकै चरा ठोक्किएको छ । विमानस्थलबाट राति ९ बजेर २३ मिनेटमा उडेको विमानमा काठमाडौंको आकाशमै चरा ठोक्किएको विमान कम्पनीका प्रतिनिधिले बताएका हुन् ।
दुबईको एक सञ्चारमाध्यम द न्याशनलन्युजसँग कम्पनीका प्रतिनिधिले भनेका छन्, ‘फ्लाईदुबईको एफजेट ५७६ उडान काठमाडौं विमानस्थलबाट उड्नेबित्तिकै चरा ठोक्किएको थियो । सबै मापदण्ड अनुसरण गरी उडानलाई निरन्तरता दिइएको हो ।’
जहाज उडेलगत्तै राति काठमाडौंको आकाशमा विमानको अघिल्तिर इन्जिन विस्फोट भएजस्तो उज्यालो देखिएको थियो । उक्त फुटेज सामाजिक सञ्जालमा भाइरल बनेका छन् । त्यसलगत्तै काठमाडौंमै विमानलाई आकस्मिक अवतरण गराउने प्रयास गरिएको थियो ।
सो क्रममा विमानले काठमाडौंको आकाशमा निकै बेर फन्को मारेपछि विमान गन्तव्यतर्फ नै सोझिएको थियो । त्रिभुवन विमानस्थलका प्रमुख प्रतावपबाबु तिवारीका अनुसार चालकदलले समस्या समाधान भएकाले गन्तव्यतर्फ नै उडेको जानकारी गराएका थिए । त्यसअघि नै विमानस्थलले विमानको आकस्मिक अवतरणको लागि सम्पूर्ण तयारी गरिसकेको थियो । दुबई उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए ।
विमानमा समस्या भएको देखिएपछि आकस्मिक अवतरणका लागि अन्य आधा दर्जन बढी विमानहरुलाई काठमाडौंकै आकाशमा ‘होल्ड’ गराइएको थियो । फ्लाई दुबईको विमान दुबईतर्फ नै गएपछि पर्खिरहेका विमानहरुलाई क्रमशः अवतरण गराइएको विमानस्थलले जनाएको छ ।