बेइजिङ । चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तर्राष्ट्रिय तथ्यांक सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताएका छन् ।
पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७ गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघको विश्व डाटा फोरमलाई बधाई सन्देश दिँदै उनले उक्त टिप्पणी गरेका हुन् ।
राष्ट्रपति सीले मानव समाजको समृद्धि र प्रगतिका लागि दिगो विकास अपरिहार्य भएको र बलियो, हरियाली र स्वस्थ विश्वव्यापी विकास हासिल गर्नु विश्वभरका मानिसहरूको साझा आकांक्षा भएको बताएका छन् ।
चीनले दिगो विकासको सन् २०३० मुद्दालाई समर्थन र कार्यान्वयन गर्दै नवीन, समन्वयात्मक, हरित, खुला र साझा विकासको नयाँ दर्शनलाई पालना गर्ने उल्लेख गरेका छन् ।
उनले चीनले डिजिटल पूर्वाधारमा निरन्तर सुधार गर्दै, तथ्यांक र तथ्यांकीय क्षमता निर्माणलाई सुदृढ गर्दै दिगो विकास लक्ष्यहरूको अनुगमन गर्ने अभ्यास र अनुभवलाई सक्रिय रूपमा बाँडिरहेको बताए ।
चीनले ‘तथ्यांक सुशासन’मार्फत सन् २०३० को दिगो विकास एजेन्डाको कार्यान्वयनलाई प्रवद्र्धन गर्नका लागि अन्य देशहरूसँग मिलेर काम गर्ने, डाटा क्षेत्रमा खुला अन्तर्राष्ट्रिय सहयोग निर्माण गर्दै सबै देशको साझा विकास र प्रगतिलाई बढावा दिने उनको धारणा छ ।