काठमाडौँ । दलहरुलाई एक ठाउँमा केन्द्रीत गर्दै तेस्रो ठूलो शक्ति निर्माण गर्न नेताहरु लागिपरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायत दलहरुले बारम्बार समाजवादी मोर्चा बनाउने उद्घोष गरिरहेका छन् ।
कम्युनिस्ट वामपन्थी शक्तिबीच मोर्चा र एकता गर्न महराको नेतृत्वमा गत पुस २३ गते बनाएको थियो । पछिल्लो समय उर्जा मन्त्रीको समेत जिम्मेवारीमा रहेका शक्तिबहादुर बस्नेत सक्रिय भई लागिरहेको माओवादी केन्द्रका एक नेताले बताए ।
जनता समाजवादी पार्टीबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विजय पौडेल समाजवादी मोर्चा निर्माणमा सक्रिय भई लागेका छन् ।
बेदुराम भुसाल कृषि मन्त्री र प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि विजय पौडेल र महासचिव घनश्याम भुसाल सक्रिय भई लागेका छन् । शीर्ष नेताहरुसंग भेटघाट गर्नुका साथै डकुमेन्ट तयार गर्न पौडेल र भुसाल लागि परेका छन् ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माण गर्न शीर्ष नेतृत्व तहमा संवाद भइरहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा अभियान बनाउने बताएका थिए । गत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विचार मिल्ने पार्टीहरु एक ठाउँमा उभिएर मोर्चा बनाउने बताएका हुन् ।
यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउन आग्रह गरिरहेकाले तत्काल मोर्चा बनाएर जाने बताए ।