काठमाण्डौं,चैत २०
दोलखाको मेलुङ गाउपालिकाले विदेशबाट फर्केकाहरूको पहिचान गरी उनीहरूको घरमा रातो झण्डा राख्ने अभियान सुरु गरेको छ ।गाउँपालिकाले कोरोना लागेका बिरामी वा सोको संक्रमण देखापरे नियन्त्रण गर्नाका लागि सजिलो होस् भन्ने उद्देश्यले उनीहरूको घरमा रातो झण्डा राख्ने अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । विदेशबाट फर्केकाहरूको पहिचान गरी उक्त घरमा १४ दिनसम्म रातो झन्डा राख्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । विदेशबाट घर फर्केकाहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा उनीहरूको पहिचानका लागि घरमा संकेतको रूपमा झण्डा राखिएको श्रेष्ठको भनाइ छ । १४ दिन पुगेपछि झण्डा हटाइने उनले बताए । मेलुङ गाउपालिका वडा नं १ पवटीबाट गाउँपालिका प्रमुखको उपस्थितिमा अभियान सुरु भएको छ । हालसम्म गाउँपालिकामा भर्खरै विदेशबाट आएका व्यक्तिहरूको तथ्याङ्क ११ जना रहेको उनको भनाइ छ । उनीहरूलाई नराम्रो हिसाबले नभई सबै बाँचौ र आफू पनि बचाऔँ भन्ने अभियानमा सहयोग पुग्ने श्रेष्ठले दाबि गरे ।
कोरोना नियन्त्रणका लागि जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि उपकरणहरूसहित स्वास्थ्यकर्मी परिचालित गरेकोे जनाएको छन् । कारोना भाइरसको रोकथामका लागि दोलखाका स्थानीय तहहरूले विभिन्न जिल्लाको विभिन्न ठाउँमा ५९ बेडको आइसोलेसन निर्माण गरेका छन् । जिल्लाभरि ५९ बेडको आइसोलेसन र दुई सय १० वटा क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए । जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाको लागि लगाउने पीपीई ४८ थान थर्मल गन २० थान रहेको छ भने जिल्ला भर २७ ओटा एम्बुलेन्स तयारी अवस्थामा रहेको उनले बताए । स्थानीय तहअन्र्तगत गौरीशंकर गाउँपालिकाले ६ बेड, शैलुङले ८ बेड, कालिञ्चोक र तामाकोशीले पाँच पाँच वेड, बैतेश्वरले २ बेड, भिमेश्वरले ८ बेड, विगुले १० बेड र जिरीले २ बेड आइसोलेसन वडा निर्माण गरेको छ । स्थानीय तहबाहेक जिल्लामा रहेका निजी अस्पतालहरू च्छोरोल्पा अस्पतालले ६ बेड, दोलखा सामुदायिक अस्पतालले २ बेड र धुलिखेल अस्पतल दोलखाले ५ बेडको आइसोलेसन निर्माण गरेको छ । आइसोलेसन निर्माणका साथै हरेक स्थानीय तहमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था रहेको र आवश्यक ठाउँहरूमा समन्वय गरी औषधि उपकरणहरू व्यवस्थापन गर्ने काम भइरहेको प्रजिअ शर्माले बताए । कोरोना भाइसरको रोकथामका लागि स्थानीय तहमा औषधि उपकरण स्वास्थयकर्मी, आम नागरिकलाई जनचेतना लगाएतका हरेक गतिविधिहरू स्थायीन तहले गरिरहेको र फैलिन नदिनका लागि आफूहरू सचेत रहेको गाउँपालिका महासंघ बागमती प्रदेशका संयोजक तथा तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।