काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका छन् । गत मङ्सिर ४ गतेको चुनावमा सप्तरी २ बाट पराजित भएका यादव वैशाख १० गतेको उपनिर्वाचनमा बारा–२ बाट विजयी भएका हुन् ।
बारा–२ मा यादवले आफ्नो लागि क्षेत्र खाली गर्न प्रतिनिधि सभामा चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका थिए । कडा प्रतिस्पर्धाबीच चुनाव जिते पनि यादवका लागि अगामी दिनमा मधेसमा झनै चुनौती थपिएको छ ।
विजयकान्त कर्णका अनुसार, ‘उपेन्द्र यादव सप्तरीबाट चुनाव हारेपछि जनताले त्यति आशा गरेका थिएनन् । उहाँ विपक्षीको टार्गेटमा पनि रहनुभएको थिएन । तर उपनिर्वाचनपछि जनताको अपेक्षासँगै विपक्षीको प्रहार पनि बढेको छ । अगामी दिनमा सिके राउत उहाँका लागि झन् ठुलो चुनौती हुनेछन् ।’
जसरी रवि लामिछाने काँग्रेस–एमालेका लागि खतराको घण्टी बन्दैछन्, त्यसरी नै मधेसमा यादवका लागि राउत खतराको घण्टी बनेको कर्णको भनाई छ । तर अहिले पनि केही नबिग्रेको बताउँदै उनले दलहरूले आफूलाई सुधार गर्न सके रवि र सिके राउतहरूलाई पछाडि पार्न सकिने बताए ।