काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले गरेकी छिन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘करिब १० दिनदेखि हाम्रो देशको राष्ट्रपतिज्यू भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता उहाँलाई के भएको हो ? नेपालमा त्यसको उपचार हुन्छ वा हुँदैन ? उहाँको स्वास्थ्यमा सुधार कस्तो भइराखेको छ ? यो विषयमा सरकारले सबै जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ ।
काठमाडौंमा रहेको वीर अस्पतालको भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ । हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन ? भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । यसमा मैले ध्यानाकर्षण गराएँ ।’ उनले भनिन ।