काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाबलाई कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको बताएका छन् । ‘उद्योगी व्यवसायीको प्रवृत्ति निर्माण व्यवसायीको जस्तै छ, चालू पुँजी कर्जा प्रयोजनअनुसार खर्च पर्छ’, नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वगभर्नर भट्टराईले भने, ‘उद्योगीहरुले एउटा प्रयोजनका लागि लिएको कर्जा अन्यत्र खर्च गर्ने अनि ब्याजदर घटाउनुप-यो भन्ने प्रवृत्ति गलत छ ।’
साथै उनले चालू पुँजी कर्जा मार्गदर्शन कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । पछिल्लो समय ऋण नतिर्ने र बैंकका कर्मचारीमाथि आक्रमण गर्ने क्रम फैलिनु गलत भएको भन्दै सोही कारण बैंकहरुको खराब कर्जा बढेको पूर्वगभर्नर भट्टराईको भनाइ छ । वार्षिकोत्सवका कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैैंकले चालू पुँजी कर्जा निकै सोचविचार गरेर मुलुकको दीर्घकालीन हितको लागि ल्याएको बताए । राष्ट्र बैंकले कुनै पनि निर्णय हचुवाको भरमा गर्दैन, राष्ट्र बैंकले अहिले ल्याएको चालू पुँजी कर्जा कति प्रभावकारी, राम्रो र आवश्यक थियो भन्ने कुरा निकट भविष्यमा नै उद्योगीहरुले बुझ्नेछन्’, गभर्नर अधिकारीले भने ।
‘नेपाल राष्ट्र बैंक सदैव आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको लागि मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन तथा वित्तीय पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्यप्राप्तिमा सहयोग गर्न प्रतिबद्ध छ’, गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा सुधार आएको र ब्याजदरमा परेको दबाब कम हुँदै गएको पनि बताए । उनले तरलता व्यवस्थापनलाई सुदृढ गर्दै ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेपश्चात् अन्तरबैंकदर आठ दशमलव पाँच प्रतिशतबाट घटेर सात प्रतिशतमा झरेको बताए । तरलतामा सहज हुँदै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप र कर्जाको ब्याजदर घटाउन थालेको बताए । उनले ब्याजदरमा देखिएको वृद्धिको कारण कर्जाको मागमा कमी आएको र सरकारी खर्च अपेक्षित हुन नसक्दा समष्टिगत माग कमजोर भई आर्थिक गतिविधिमा शिथिलता आएको स्वीकार गरेका छन् । उनले मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको दाबी गरेका छन् ।