काठमाडौं । नेपाली अर्थोडक्स चियामा ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा बिहीबार आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवमा सो प्राणलीको शुभारम्भ गरिएको थियो ।
प्रणाली प्रारम्भ भएपछि चिया उत्पादक कम्पनीको उत्पादन बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोडमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाबारे आवश्यक सूचना बारकोडबाट प्राप्त गर्ने हुँदा गुणस्तर, तौलमा ठगी हुन पाउँदैन । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मन्त्री भुसालले गत वर्ष नेपालले करिब १३ हजार मेट्रिक टन चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेको जानकारी दिँदै चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवर्द्धन गर्न सकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्ने बताए ।
यस्तै मन्त्री रिजालले नेपालमा करिब २० हजार हेक्टरमा अहिले चिया रोपन तथा करिब २६ हजार मेट्रिक टन चिया उत्पादन हुने गरेकामा खुसी व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यापारघाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरण हुने बताए ।
बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा बिहीबारदेखी तीन दिनसम्म चिया प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरिएको थियो । महोत्सवमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो । यस्तै दिवसका सन्दर्भमा इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ । यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नारासाथ दिवस मनाउन लागिएको छ ।