महेन्द्रनगर (धनुषा), कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब प्रदेश मेरो र तेरो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने बताएका छन् । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क रहेको उनको भनाइ थियो ।
अब ७० लागेका नेता आराम गर्नुको विकल्प नरहेको भन्दै अध्यक्ष नेपालले स्वयं आफूलगायत त्यस्ता सम्पूर्ण नेतालाई पुस्तान्तरणका लागि आह्वान गरेका छन् ।
माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा गरिने जानकारी गराए । उनले समाजवादी मोर्चाका लागि पनि अब पहल सुरु हुने बताए ।