काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले गर्दा आइतबार मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।
शनिबार बेलुकापछि काठमाडौँमा पानी पर्न रोकिएको भए पनि आइतबार पनि शनिबारको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए । उनका अनुसार सोमबार काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।
पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएर हिजो शनिबारदेखि धेरै ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडौं उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी परेको तथ्याङ्कले देखाएको छ ।
मधेस प्रदेशका एक–दुई ठाउँमा सोमबार हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।