काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकका मधेस प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । स्वर्गीय उदयकुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेका थिए । बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको छवटा जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा, २५ हजार रुपैयाँसम्मको आवधिक जीवन बीमा र पाँच हजार रुपैयाँसम्मको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको देशको सातै प्रदेशमा एक सय ३० वटा कार्यालय तथा एक सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।