काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दैै अध्यक्ष सिलवालले पुँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरू भावनात्मक रूपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताए ।
प्राधिकरणको पटक–पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव ४४ अर्बबराबरको दाबी भुक्तानी भएको जानकारी दिँदै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो अधिकार प्रयोग गर्नुप-यो, अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुप-यो, कर्मचारीहरू पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुप-यो, कर्मचारीहरू चेन अफ कमाण्डमा बस्नुप¥यो, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुप-यो, त्यसो नभएमा कर्मचारीले प्राधिकरणलाई जानकारी दिनुप¥यो ।’
अध्यक्ष सिलवालले बीमा कम्पनीहरू सहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरू सञ्चालनमा ल्याउन परेको स्पष्ट पारे ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए ।