काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमा बढाएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्रप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९ मा केही बुँदा थप गर्दै डलर वा अन्य परिवत्र्य विदेशी मुद्रा सटहीको सीमा बढाएको हो ।
संशोधित व्यवस्थाअनुसार नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम) को खरिद कारोबार गर्न सक्नेछ । तर विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने एकीकृत परिपत्रअनुसार अधिकतम पाँच सय डलरसम्म मात्र सटही गर्न सकिने परिपत्रमा उल्लेख छ । यसअघि नेपाली नागरिकसँग अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्नसक्ने व्यवस्था रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवत्र्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० दर भन्दा सानो दरका नगद नोट खरिद समेत) र बिक्री दरबीचको फरक एक प्रतिशतभन्दा बढी नहुने गरी तोक्नुपर्नेछ । तर अमेरिकी डलरको हकमा भने खरिद दर र बिक्री दरबीचको फरक नेपाली रुपैयाँ ६० पैसाभन्दा बढी नहुने राष्ट्र बैंकले जनाएको छ । ५० दरभन्दा साना दरका नगद नोट खरिद गर्दा तोकिएको खरिद दरमा उल्लेख भएबमोजिमको सेवा शुल्क लिन बाधा नपर्ने परिपत्रमा उल्लेख छ ।
कुनै पनि कम्पनीहरुले आफ्नो तथा भगिनी संस्था (सिस्टर कन्र्सन) को लागि विदेशी संस्थाबाट लिने विविध सुविधा, अदृश्यतः (इम्भिजिबल इम्र्पोट) लिए÷गरेको पुष्टि हुने कागजात÷ बिलबीजकको आधारमा मासिकरुपमा बढीमा अमेरिकी डलर १५ हजार वा सो बराबरको रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्न सकिनेछ । तर नेपाली विश्वविद्यालयले लिने सेवाको हकमा विदेशी प्राकृतिक व्यक्ति (शोधकर्ता÷प्राध्यापन पेशाकर्मी) लाई समेत भुक्तानी गर्न सकिनेछ र त्यस्तो भुक्तानीको सीमा वार्षिक अमेरिकी डलर ५० हजारसम्म हुने परिपत्रमा उल्लेख छ । यसअघि भने भगिनी संस्थाको हकमा मात्र मासिकरुपमा अमेरिकी डलर १५ हजारसम्मको भुक्तानी सीमा तोकिएको थियो ।
यसैगरी वैदेशिक अध्ययन स्वीकृति सम्बन्धमा पनि राष्ट्र बैंकले सोही परिपत्रमार्फत भनेको छ, एकीकृत परिपत्र २०७९ मा अन्यत्र जुनसुकै कुरा उल्लेख गरेको भए पनि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन लेटर) सम्बन्धी विवरण एकीन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ ।