काठमाडौं । राष्ट्रिय पुरुष खुला तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुसिन कराते डो संघ बज्र (आईकेओबी) अन्तर्राष्ट्रिय कराते संगठनको वार्षिक कार्यक्रमअनुसार वैशाख २२ र २३ गते ‘२१औँ राष्ट्रिय पुरुष खुला एवं १४औँ राष्ट्रिय महिला तौल समूह’ फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा सातवटै प्रदेशबाट पुरुष खुलातर्फ ६५ जना र महिला तौल समूहतर्फ ५५ जना खेलाडीहरूले भाग लिने नेपाल क्योकुसिन कराते डो संघ बज्रका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ । यस पटकको प्रतियोगिता उत्कृष्ट एवं उच्च स्तरको हुने उनले बताए ।
यस्तै नेपाल क्योकुसिन कराते डो संघको माध्यमबाट नेपालमा मार्सल आर्ट वैधानिक भएको पनि मानन्धरले बताए । उनका अनुसार नेपाल क्योकुसिन कराते डो संघ बज्र नेपालमा सर्वसाधारणका लागि सबैभन्दा पहिला खुलेको मार्सल आर्टको डोजो हो । यसले विश्व कराते प्रतियोगितामा सम्मानजनक उपस्थिति प्रदर्शन गर्दै आएको छ । एसियाली कराते प्रतियोगितामा सन् १९८२ र सन् १९९४ मा दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो । साथै नियमित रूपमा राष्ट्रिय प्रतियोगिताहरू र विभिन्न जिल्लामा उपशाखा डोजोहरू सञ्चालन भइरहेको पनि जानकारी गराए ।
लामो समयसम्म मार्सल आर्टको गहन अभ्यास र अध्ययनपश्चात् महागुरु जगतप्रसाद गौचनद्वारा नयाँ मार्सल आर्टको विधा बज्र कराते प्रतिपादन गरेका थिए । हाल क्योकुशिन बज्र करातेको विभिन्न मुलुकहरूमा शाखा डोजो खोल्ने क्रम जारी छ । भविष्यमा बज्र कराते पनि विश्वव्यापीरूपमा लोकप्रिय मार्सल आर्ट विधाको रूपमा स्थापित हुने मानन्धरको भनाइ छ ।