काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को लाइसेन्सका लागि १६ वटा कम्पनीहरुलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । बोर्डको सञ्चालक समितिको बैठकले स्टक ब्रोकर कम्पनीको लागि आवेदन दिएका ४५ वटा कम्पनीहरुमध्ये पहिलो चरणमा योग्यता पुगेका १६ कम्पनीलाई एलओआई प्रदान गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जनाएका छन् ।
बोर्डका अनुसार एलओआई पाउने कम्पनीहरुमा नबिल सेक्युरिटिज लिमिटेड, मेघास्टक मार्केट लिमिटेड, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, सीबीआईएल सेक्युरिटिज लिमिटेड, केबीएल सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड, सानिमा सेक्युरिटिज कम्पनी लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, सन् सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, भोले गणेश सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, आकाश भैरव सेक्युरिटिज लिमिटेड, एलिट स्टक हाउस लिमिटेड र एसपीएसएस सेक्युरिटिज लिमिटेड रहेका छन् ।
बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेकामा विभिन्न ४५ कम्पनीको आवेदन परेको थियो । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकेको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ अनुसार लाइसेन्सका लागि आवेदन माग गरेको ३५ दिनभित्र एलओआई दिनुपर्ने व्यवस्था रहेको र सोहीअनुसार सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले प्रक्रिया रोकेको अवधिबाहेक ३५ कार्यदिनभित्र नै लाइसेन्स पाउने नपाउने एकीन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बोर्डले जनाएको छ ।
कमोडिटिज एक्सचेन्जको मूल्यांकन समिति गठन
धितोपत्र बोर्डले कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि आवेदन परेका कम्पनीहरुको मूल्याङ्कनका लागि समिति गठन गरेको छ । कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरिएकोे प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जनाएका छन् ।
सदस्यमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् । कमोडिटिज एक्सचेन्जका लागि चारवटा कम्पनीको आवेदन परेको छ ।