मलेखु । अठार घन्टापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध भएको सडक एकतर्फीरुपमा खुलेको छ ।
थाक्रे गाउँपालिका-८ र धुनीबेँसी नगरपालिका-६ को सिमाना जोड्ने गणेशखोला पुलको जमिन भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेर भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
पूर्व(पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ । यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारीको जाम हटाउन निकै गाह्रो परेको छ ।
बाटो एकतर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ । सयौँ सवारी सडकमा रोकिएकाले ती सवारीसाधन पार गराउन अझै केही घन्टा लाग्ने प्रहरीको भनाइ छ ।