काठमाडौं । सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।
मंगलबार छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुभकामना दिँदै उनले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेको बताएकी हुन् ।
उनले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताउँदै सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा भइरहेको उल्लेख गरिन् ।
उनले सूचना प्रविधिको प्रयोगबाट नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको बताइन् । सूचना प्रविधिलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उनको भनाइ छ ।
मन्त्री शर्माले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताइन् । साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको उल्लेख गर्दै मन्त्री शर्माले सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।