काठमाडौं । सामाजिक सुरक्षा कोषले ३३ अर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन गरेको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै वैशाख तेस्रो सातासम्म ३३ अर्ब नौ करोड ४९ लाख रुपैयाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ ।
यो अवधिमा चार लाख ८४ हजार छ सय ९३ जना योगदानकर्ताहरु कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए । यसैबीच कोषमा एक महिनाको अन्तरालमा दुई अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । चैत पहिलो सातासम्म कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ संकलन भएकोमा वैशाख तेस्रो सातासम्म आइपुग्दा दुई अर्ब २२ करोड रुपैयाँ योगदान रकम थपिएको कोषका प्रवक्ता पन्थीले बताए ।
‘पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्ध गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो’, प्रवक्ता पन्थीले भने, ‘योगदानकर्ता र रकममा वृद्धि हुनुको साथै कोषले प्रदान गर्ने योजना अर्थात् सुविधाले रोजगारदाता र श्रमिकलाई राहत मिल्न पुगेको छ ।’
कोषले चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो । कोषका अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका ५० हजारभन्दा बढी श्रमिक सामाजिक सुरक्षामा आबद्ध भएका छन् । औपचारिक वा अनौपचारिक रुपमा विदेशमा रहेका श्रमिकहरुलाई कोषमा आबद्ध गराउने रणनीति सफल हुँदै गएको कोषको दाबी छ । यस्तै चैतको पहिलो सातासम्ममा तीन लाख ९९ हजार पाँच सय ६६ जना योगदानकर्ताहरु कोषमा सूचीकृत भएका थिए । यो तथ्यांकले कोषप्रति आकर्षण बढेको देखाएको छ ।
यस्तै समीक्षा अवधिमा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १७ हजार आठ सय ४९ जना छन् । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।
सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ ।