काठमाडौं । वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ६८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् । बैंकहरुले कायम गरेको यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ७५ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब ८४ करोड ४० लाख रुपैयाँ थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको छ भने सबैभन्दा कम चुक्ता पुँजी बहुराष्ट्रिय कम्पनीद्वारा प्रवर्द्धित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको छ ।
यसअनुसार ग्लोबल आईएमईले ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्दा स्ट्यान्डर्ड चार्टर्डले भने जम्मा नौ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । चुक्ता पुँजी बढी हुने दोस्रो ठूलो वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड छ । सो बैंकले ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । नबिल बैंकले २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यसैगरी कुमारी, प्रभु र हिमालयन बैंकले पनि चालू आर्थिक वर्षको पछिल्लो अवधिमा क्रमशः २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ, २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ र २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल, कृषि विकास बैंक र एनएमबी बैंकले क्रमशः १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ, १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ र १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकको चुक्ता पुँजी क्रमशः १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ, १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ र १४ अर्ब आठ करोड ९९ लाख ८० हजार रुपैयाँ पु-याएका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सानिमा, एनआईसी एसिया र लक्ष्मी बैंकले क्रमशः १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँ, १२ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ, ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार रुपैयाँ र ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यीबाहेक एभरेष्ट, माछापुच्छ्रे, नेपाल एसबीआई र सनराइज बैंकको चुक्ता पुँजी क्रमशः १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ, १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, १० अर्ब १२ करोड छ लाख २८ हजार रुपैयाँ र १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ कायम रहेको छ ।