सुर्खेत । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।
अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् । उनले सरकारमा एकलौटी गर्न खोजिएको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो ।
नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको भन्दै समाज समृद्ध भए मात्र जनता खुसी हुने बताए । आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै नेपालले देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको दाबी गरे ।