काठमाडौँ । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत टेकनारायण पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरुको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ परेका हुन् ।
सचिव पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी गराए । प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए ।
मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । प्रहरी अधिकारीहरुका अनुसार आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेका छन् । अनुसन्धानबाट पूर्व गृह सचिव महेश्वर न्यौपानेको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ । नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ ।