काठमाडौं । २०७३ सालको तिहारमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग/कलकारखाना नचलेको बेला सर्वसाधारणको घरमा बिजुली दिए । धेरै लोड लिने ठाउँमा उनले अनुरोध गरेरै बिजुली कटाए र आम सर्वसाधारणलाई नियमित रुपमा बिजुली दिए । त्यसपछि उनको धेरै ठाउँमा जयजयकार भयो ।
त्यतिबेलाको सरकारले नेपाल उज्यालो युगमा प्रवेश गरेको घोषणा नै ग-यो । उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ पनि २०७५ सालदेखि अन्त्यको घोषणा गरियो । तर, उद्योगलाई चाहिने जति विद्युत्को पावर प्राधिकरणले दिनसकेको थिएन । तर, उद्योगीहरुले त्यसलाई समर्थन गरेरै बसे ।
स्वदेशमा बिजुली उत्पादन गरेर भन्दा पनि भारतबाट खरिद गरेर ल्याएको बिजुलीबाट कुलमानले आम सर्वसाधारणको घरमा लोडसेडिङ अन्त्य गरेका थिए । भारतबाट धेरै बिजुली खरिद गर्न पाउँदासम्म उनले उद्योगमा पनि केही हदसम्म लोडसेडिङ गरेनन् । यद्यपि विद्युत् सप्लाई भने मधुरो थियो । त्यसले उद्योगका मेसिन राम्रोसँग चलाउन सक्तैनथ्यो ।
कुलमानले लोडसेडिङ अन्त्यको नाममा धेरै नाजायज फाइदा मात्र उठाएनन् उद्योग क्षेत्रमा मेसिन चल्ने गरी बिजुली सप्लाई भएन भनेर आवाज उठ्दा केही सञ्चारमाध्यम प्रयोग गरेर उनीहरुविरुद्ध विषवमन नै गरे । उनले बिजुलीको गुणस्तरको प्रश्न गर्नेहरुलाई लोडसेडिङको दलाल भनेर बदनाम गर्ने काम गरे । वास्तविक दलाल भने कुलमान आफैँ थिए । उनले स्वदेशमा बिजुली उत्पादन गर्नेभन्दा पनि भारतबाट कमिसनमा बिजुली खरिद गरेर ल्याएर सप्लाई गरिरहे । बिक्री गर्ने भारत र उपभोग गर्ने नेपाली उद्योगी र उपभोक्ताहरुको बीचमा रहेर उनले दलाली गर्दै गए ।
कुलमानले लोडसेडिङको घोषणा गरे पनि औद्योगिक क्षेत्रका उद्योगीहरु भने वर्षेनी कुनै न कुनै बेला लोडसेडिङको मारमा पर्दै आएका छन् । यो वर्ष भने अन्य वर्षको तुलनामा धेरै मारमा छन् । केही महिनादेखि उद्योगीहरु छ/सात घण्टाको लोडसेडिङको मारमा छन् । तर, कुलमान बिजुली सप्लाई यो बेला हुन्छ, ऊ बेला हुन्छ भनेर भनिमात्र रहेका छन् । तर, पूर्वका औद्योगिक क्षेत्रमा लोडसेडिङ हटेको छैन ।
अहिले खासगरी पूर्वी नेपालका उद्योगीहरु लोडसेडिङको चरम शिकारमा परेका छन् । उनीहरुले उद्योग चलाइरहेको बेला जुनसुकै बेला झ्याप्प बिजुली जान्छ । कतिखेर बिजुली जान्छ र आउँछ भन्ने पूर्वजानकारी पनि प्राधिकरणले दिँदैन । बिजुली जाने पूर्वजानकारी मात्र होइन बिजुली गएपछि कतिबेला आउँछ भन्ने जानकारी पनि उद्योगीलाई दिइन्न । उद्योगीहरु लोडसेडिङबाट हैरान भएपछि उनीहरुले पूर्वमा प्राधिकरणको कार्यालय घेर्ने, जुलुस निकाल्ने, राजनीतिक नेतृत्वलाई भेट्नेदेखि लिएर कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर लोडसेडिङ अन्त्य गराइदिन पहल गर्न आग्रह पनि गरेका छन् ।
बिहान, दिउँसो र बेलुकी अघोषित रुपमा हुने लोडसेडिङविरुद्ध आवाज उठाइरहेका पूर्वका उद्योगीहरुलाई चुप लाग भनेर दबाब दिने उद्देश्यले कुलमानले प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा केही सीमित पत्रकारलाई बोलाएर पत्रकार सम्मेलनको नाममा धम्की दिँदै लोडसेडिङ भयो भनेर अनावश्यक हल्ला र राजनीति नगर्न चेतावनी दिन्छन् । कहिले पानी परेपछि त कहिले हिउँ परेपछि बिजुली आपूर्ति सहज हुने जवाफ दिन्छन् । वैशाखको दोस्रो साता लागेपछि देशभर नै पानी र हिउँ परेको छ । तर, पूर्वका उद्योगीहरुले बुधबारसम्म पनि अघोषित लोडसेडिङकै सामना गर्नुपरेको छ । कि बिजुली देऊ कि त लोडसेडिङको तालिका सार्वजनिक गर भनेर माग गर्ने उद्योगीहरुलाई कुलमान राजनीति गरेको भनेर कुरा बङ्ग्याउन चाहन्छन् ।
बिजुलीले नधान्ने भएपछि समय तोकेर लोडसेडिङको तालिका प्रकाशित गरे आफूहरुले त्यहीअनुसार योजना बनाउने भनेर उद्योगीहरुले कुलमान र उनलाई नियुक्ति गर्ने प्रचण्डलाई पनि पटक–पटक भनेका छन् तर कुलमान लोडसेडिङ तालिका प्रकाशित गर्न मान्दैनन् । त्यसको खास कारण भनेको उनी आमसर्वसाधारणमा आफ्नो बारेमा परेको लोडसेडिङ हटाउने एमडीको भ्रमबाट मुक्त गराउन चाहँदैनन् । उनी केही पत्रकार, सामाजिक सञ्जाल र आफूद्वारा पोषितहरुबाट लोडसेडिङ हटाएको नायक भनेर प्रचार गरिरहन चाहन्छन्, उद्योगीहरुले छ/सात घण्टाको लोडसेडिङको मार भोग्न परे पनि उनी तालिका निकाल्न मान्दैनन् । ‘एक पटक लोडसेडिङको तालिका प्रकाशित भयो भने आफ्नोबारे परेको भ्रम सबैबाट मेटिने भएको कारण कुलमान त्यो गर्न चाहँदैनन्’, प्राधिकरणकै एक उच्च अधिकारी भन्छन्, ‘लोडसेडिङ उद्योगमा भएको हो । सर्वसाधारणको लागि हो र तालिका निकाल्नुपर्ने ?’ तर, उनको अघोषित लोडसेडिङले उत्पादनमा प्रभाव पर्ने मात्र होइन, मेसिन बिग्रिने र कामदार तथा मालिक दुवैले दुःख पाइरहेका छन् ।
कोशी प्रदेशका उद्योगमा बिजुली आपूर्ति सहज नहुनुलाई कुलमानले अल्पकालीन भनेको भन्दै दश÷पन्ध्र दिनमा बिजुली सहज हुन्छ भनेको पनि एक÷डेढ महिना भइसक्यो तर बिजुली आपूर्ति कहिले हुन्छ अझै निश्चित छैन । मोरङ–सुनसरी र बारा–पर्सा क्षेत्रका उद्योगहरुमा अघोषित लोडसेडिङले पारेका प्रभाव कहिले हट्छ अझै निश्चित छैन ।
‘लोडसेडिङ घरायसी ग्राहकले भोग्नुपरेको छैन’, एक उद्योगीले आर्थिक दैनिकसित भने, ‘हामीलाई त सञ्चारमाध्यमले पनि साथ दिएन । लोडसेडिङ भयो भिडियो खिचेर देखाउनुहोस् भन्दा केही दिनमै बिजुली आपूर्ति सहज हुन्छ भन्ने कुलमानको आदेश र भाषण पो प्रसारण गरिदिन्छन् अहिलेका सञ्चारमाध्यमले ।’ ती उद्योगीका अनुसार लोडसेडिङ छैन भनेर कुलमानले झूट बोलिरहने अनि जनताले पत्याइरहने अवस्थाले गर्दा उद्योग क्षेत्रका मालिक मात्र होइन कामदार नै मारमा परेका छन् । कुलमानले सञ्चारमाध्यम प्रयोग गरेर उद्योगमा भएको चरम लोडसेडिङलाई अविश्वासिलो बनाइदिएका छन् । ‘अघोषित लोडसेडिङ अन्त्य गरिदिनुप¥यो वा लोडसेडिङको तालिका सार्वजनिक गरिदिनुप¥यो भनेर आवाज उठाउँदा उद्योगीले राजनीति गरे भनेर हामीलाई कुलमानले टर्चर दिइरहेका छन् । तर, हाम्रो माग कतै सुनुवाइ भएन’, सुनसरीका अर्का उद्योगीले गुनासो गरे । बिजुली दिन नसक्ने कुलमानले राजीनामा दिनुप¥यो भनेर केही महिनादेखि मोरङ–सुनसरीका उद्योगीले भनिरहेका छन् तर कुलमान उनीहरुलाई विभिन्न बहानामा धम्क्याउने÷टर्चर दिने काम गरिरहेका छन् । भारतबाट बिजुली खरिद गरेर ल्याएर देऊ भन्दा पनि प्राधिकरण उद्योगीहरुले मागेजति बिजुली दिन तयार छैनन् । प्राधिकरणको यो लापरबाहीले उद्योगीहरुको उत्पादन घटेको मात्र होइन मजदुर पनि विदेश पलायन हुनुपर्ने अवस्था अवस्था छ ।