काठमाडौं । सरकारले नागरिक बचतपत्रमार्फत थप दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले पाँच वर्ष अवधिको ‘नागरिक बचतपत्र २०८५’ बिक्री गरी ऋण परिचालन गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । १० प्रतिशत ब्याजदरको बचतपत्रमा इच्छुक नेपाली नागरिकले घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सक्नेछन् ।
बचतपत्रको बिक्री खुला वैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । बचतपत्र जेठ ३० गते निष्काशन हुनेछ भने सावाँ भुक्तानी २०८५ जेठ ३० गते हुनेछ । ब्याज भुक्तानी छ/छ महिनामा हुनेछ । बचपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिनेछ ।
राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्र लगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको छ । आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, २५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ ।