काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्लो एक वर्षमा ६७ लाख ५४ हजार चार सय ४३ वटा निक्षेप खाता थपिएका छन् । नेपाल राष्ट्र बैंकले अनुसार २०७८ फागुन मसान्तको तुलनामा २०७९ फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उल्लेख्य संख्यामा निक्षेप खाता थपिएको जनाएको छ । यससँगै बैंकिङ क्षेत्रको कुल निक्षेप खाता संख्या चार करोड ९२ लाख पाँच हजार पाँच सय १४ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप खाता संख्या चार करोड २४ लाख ५१ हजार ७१ थियो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंकिङ क्षेत्रमा थपिएका कुल निक्षेप खातामध्ये वाणिज्य बैंकहरुमा ५५ लाख ४१ हजार छ सय १७, विकास बैंकहरुमा १० लाख ५९ हजार पाँच सय पाँच र फाइनान्स कम्पनीहरुमा एक लाख ५३ हजार तीन सय २१ रहेको छ । सो अनुसार २०७९ फागुन मसान्तसम्मा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप खाता संख्या क्रमशः चार करोड २३ लाख ६० हजार एक सय ६५, ६० लाख ९७ हजार तीन सय ५० र सात लाख ४७ हजार नौ सय ९९ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खाता संख्या क्रमशः तीन करोड ६८ लाख १८ हजार पाँच सय ४८, ५० लाख ३७ हजार आठ सय ४५ र पाँच लाख ९४ हजार छ सय ७८ रहेको थियो ।
बैंकिङ क्षेत्रमा कायम रहेको चार करोड ९२ लाख पाँच हजार पाँच सय १४ निक्षेप खातामार्फत कुल ५४ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन भएको छ । जसमध्ये वाणिज्य बैंकहरुले चार करोड २३ लाख ६० हजार एक सय ६५ खातामार्फत ४७ खर्ब ७१ अर्ब २८ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने विकास बैंकहरुले ६० लाख ९७ हजार तीन सय ५० निक्षेप खातामार्फत पाँच खर्ब ३४ अर्ब ५४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै फाइनान्स कम्पनीहरुले सात लाख ४७ हजार नौ सय ९९ निक्षेप खातामार्फत एक खर्ब आठ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले चार करोड २४ लाख ५१ हजार ७१ निक्षेप खातामार्फत ४९ खर्ब तीन अर्ब ३८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले तीन करोड ६८ लाख १८ हजार पाँच सय ४८ निक्षेप खातामार्फत ४३ खर्ब ३४ अर्ब ५९ करोड ९४ लाख, विकास बैंकहरुले ५० लाख ३७ हजार आठ सय ४५ निक्षेप खातामार्फत चार खर्ब ७३ अर्ब ५१ करोड ६० लाख र फाइनान्स कम्पनीहरुले पाँच लाख ९४ हजार छ सय ७८ निक्षेप खातामार्फत ९५ अर्ब २७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।
बजारमा तरलता अभाव देखिए पनि निक्षेप खाताको संख्यामा उच्च वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बैंकरहरु बताउँछन् । चालू आर्थिक वर्षको सुरुवातदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलतामा दबाब पर्दा लगानीयोग्य रकमको अभाव थियो । यही कारण बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप आकर्षित गर्न भन्दै ब्याजदर बढाएका थिए । यसको परिणामस्वरुप निक्षेप खाता खोल्नेहरुको संख्या उल्लेख्य देखिएको बैंकरहरुले बताएका छन् ।